नीलकण्ठ प्रज्ञा प्रतिष्ठान

नीलकण्ठ नगरपालिका, धादिङ

सक्षम शिक्षक ः प्रभावकारी सिकाइ

Facebook
Twitter
LinkedIn
मानिसले आफूलाई सहजरुपमा प्रस्तुत गराउन र जीवनका विविध क्रियाकलपाहरूमा रचनात्मक र सृजनात्मक उपायहरूको सही छनौट गर्न सहजीकरण गर्ने सिकाई नै शिक्षा हो । प्रभावकारी अध्ययनले मात्र सार्थक ज्ञानको तिर्खा मेटाउन सक्छ । सहयोगी, सहजकर्ता र व्यवस्थापकका जिम्मेवारी पाएका सिकाईका दुई प्रमुख पाटाहरू शिक्षक र अभिभावकको कार्य कुशलता र प्रभावकारीताले सिकाई सुदृढ बनाउन सक्छ । सिकारुमा सल्लाह, प्रेरणा, व्यवहार शिक्षणबाट आवश्यक आत्मविश्वास, दृष्टिकोण, ज्ञान, सीप, र क्षमता भर्न सक्यौ भने सिकाईको भरपर्दो आधार तयार गर्न सकिन्छ । फलस्वरुप सिकाईले क्रमशः आकार लिन्छ र उचाई लिन्छ ।
सिकाई एक त्यस्तो प्रक्रिया हो जसमा सिकारु, शिक्षक र वातावरण तीनै पक्षले विशेष महत्व रहन्छ । घरायसी र विद्यालयको सम्पूर्ण परिवेशलाई मात्रै नसमेटी साथीसँगीको व्यवहार र उठबसलाई समेत जनाउँने  वातावरणले प्रत्यक्ष प्रभाव पार्दछ । नैतिकता र इमान्दारिताको धनी भएता पनि समाजिक र आर्थिक अवस्थामा केन्द्रित रहेर गरिने व्याख्या र विश्लेषणले चिन्तन पद्धतिमा मात्रै प्रभाव नपारी सो को प्रभावले छोराछोरीको साँचोई र व्यहवारमा समेत प्रतिकुल असर गर्दछ । आफ्नो हैसियत र क्षमता उकास्नका निमित्त आउने वाधा, अड्चनहरूलाई समयमै पहिचान गरी मनोवैज्ञानिक तवरले समाधान गर्नुपर्दछ । वस्तुगत अवस्था र क्षमतालाई गहन अध्ययन गर्नुको सट्टा सतही व्याख्यामा दौडने प्रकृतिले समस्या खडा गरेको छ । आमा, बाबु तथा परिवार अनि विशेषत ः विद्यालयहरूका महत्वकाँक्षी सपानहरूले सिकाईमा अप्ठ्यारो पु¥याएको हुन्छ । अनावश्यक दबाब र जवरजस्ती उच्चतम अंकको दावीको हौवा फिजाएर वा अनिवार्य प्राप्तिको गह्रौ भारी बोकाएर विद्यार्थीभित्रको सहज सिर्जना र क्षमतालाई क्षय गरिरहेका हुन्छौं । विद्यार्थीभित्रका सबै समस्या र कमजोरीलाई एकमुष्ट एउटै विषयभित्र राखेर अल्छी, अनुत्तरदायी जस्ता विशेषण झुण्ड्याएर आत्मवल घटाउने हामी तल्लिन छौं । यथार्थ कमजोरी विद्यार्थीकै हो भन्नेमा अमूर्त व्याख्या गरेर जिम्मेवारीबाट  पन्छिने अभिभावक र विद्यालयले न्याय गरिरहेका छैनन् । आफ्नो हेराइ, व्यवहार, शिक्षणशैली, मूल्याङ्कन तरिका सल्लाह परामर्शको महत्वलाई वास्ता नगरी विद्यार्थीमाथि अज्ञानी मूर्ख, सुझबुझ नभएको भनी लाल्छाना लगाउनाले सिकाइप्रतिको बाँकी बसेको जागरुकतामा पनि कहिल्यै टुसा नपलाउने गरी डडेलो लाग्छ । यसको प्रमुख कमजोरी पात्रहरू यसमा विमति राखिन्छन् र पानीमाथिको ओभानो प्रमाणित गराउन कसरत गरिरहेका हुन्छन् ।
शिक्षकहरू वास्तवमा गुरु बन्न नसक्दाको नतिजा र अभिभावक सचेत नबन्नाको घाटा आजका विद्यार्थीहरूले खेपिरहेका छन् । एकपटकको अध्ययनले तत्कालीन समयमा अवसर प्राप्त गरेका शिक्षकहरूको परम्परागत चिन्तन, शिक्षण शैली र अपरिवर्तनीय बानीले आजको जटिल समाज र यहाँको सम्भावना र क्षमतालाई चिन्न सकेको छैन । आफूलाई मार्गदर्शन दिने र विश्व परिवेशमा प्रतिस्पर्धी नागरिका तयार गर्ने अधिकार पाएका शिक्षकहरूको विश्वास विद्यार्थीले पाउन सकेनन्, आत्मिकता प्रकट भएन । त्यसैले आजको समयमा विद्यार्थी अनुशासनहीन भए, नपढ्ने भए, अव्यवहारिक भए, भनेर बिल्ला झुण्ड्याउने भन्दा सो पहिल्यै आफ्नो स्थान, क्षमता, कार्यशैली र व्यवहारलाई शिक्षक लगायत सामाजिक व्यक्तित्वहरूले समीक्षा गर्नुपर्ने देखिन्छ । समाजमा वैमनस्यता, अराजकता र अनियमितता भित्र्याउने राजनीतिक रंग र स्वरुपमा गानाबजना गराउने आजकालका शिक्षकहरू, विद्यालय, शिक्षण सिकाइ, व्यक्तिगत विभिन्न्ताको अध्ययन, घटना, विश्लेषण, आपसी छलफल र विचार विमर्शबाट सभ्य र समुन्नत मानव समाज बनाउने कामलाई दोस्रो प्राथमिकतामा राखेको पाइन्छ । आफूले पेशागत क्षमता प्रवद्र्धन गराउन लिएको तालिम, ज्ञान, सीपहरू कार्यान्वयन गराउन आवश्यक नठान्ने शिक्षकहरू र अनुगमन तथा दण्डसजाँय अनि पुरस्कारको सहज व्यवस्था गर्न असमथ्र्य शैक्षिक निकायले शिक्षाकोस्तर घटाइरहेका छन् । यसको ठूलो नैतिक जिम्मेवारी उनीहरूले लिनुपर्दछ । कति हदसम्म भौगोलिक क्षेत्र र परिवेशको आवश्यकतालाई सम्बोधन  गर्न नसक्ने पाठ्यक्रम सबै क्षेत्र र देशैभरि एउटै प्रयोग गर्नाले र एउटै मापदण्ड राखी मूल्याङ्कन गर्ने पद्धतिले न्यायको सट्टा विभेदकारी समाजको सिर्जना गरिरहेको कुरा बुझ्नलाई कुनै अप्ठ्रो पर्दैन । अध्ययन गरेका विषयवस्तुले जीवन र जीवनका क्रियाकलापमा सघाएन भने त्यसको सान्दर्भिकताप्रति प्रश्न उठ्छ । त्यतिमात्र नभई सिकाइप्रति वितृष्णा जाग्दै जान्छ ।
विद्यार्थीलाई उसको सवल र कमजोर पक्षको अध्ययन गरी आवश्यक उपचारको विधि शिक्षण माध्यममा हुन सक्छ, अतिरिक्त क्रियाकलापमा सक्रिया सहभागिता देखाएर हुन सक्छ, भने सामाजिक अध्ययन गरी सामाजिक असमानताको समाधान गराउने काममा सरिक गराउन सकिन्छ । आपसी छलफल र अध्ययनबाट आएको निष्कर्षलाई गहन  प्राप्ति मान्नुपर्ने र सिकाइ प्रक्रियामा विद्यार्थी आफै मूल्यावन पक्ष हुन भन्ने कुरालाई प्रष्टसँग बुझाउन सक्नु पर्छ । अल्वर्ट हुआर्डले “तिमीले गर्न सक्ने सबैभन्दा ठूलो हो–गल्ती होला कि भनी डराउन कुनै प्रयास नै नगर्नु” भने जस्तै बिग्रेला, असफल होइएला भन्ने डरले अधिकांश विद्यार्थीहरू सिकाइबाट हच्किन्छन् र आफैलाई  स्वयं असफल घोषणा गराउँछन् भन्ने सन्दर्भमा बोधगम्य प्रस्तुती राख्न आवश्यक छ । सिकाई के हो ? सिकाइले वास्तवमा के उपलब्धि हासिल गराउँछ ? सिकाइ कसरी सम्भव छ ? उ आफू विद्यालय किन गएको ? उसले जीवनमा गर्नसक्ने सम्भावित कामहरू के हुनसक्छ भनी उसैसँगसँगै बसेर छलफल चलाई बुझाउन आवश्यक छ । कसरी साथीसँगी बनाउने, व्यवहार कसरी गर्ने, प्रभावकारी अध्ययन कसरी सम्भव छ, ज्ञानको प्रयोग र विस्तृतीकरण गराउने सवालमा समेत यथेष्ट छलफल चलाउनु पर्छ । उनीहरूमा आउने सक्ने व्यवहारिक, शारीरिक, सामाजिक, नैतिक र संवेगात्मक समस्याहरूलाई सुरुवातकै चरण पहिचान गरी समाधान गरिदिनुपर्छ र अगाडि बढ्न आवश्यक परामर्श, तालिम र प्रेरणा दिनुपर्दछ । विद्यार्थीको बीच पढाइको आवश्यकता बोध गराउन उपयुक्त परीक्षा प्रणाली अपनाउँदै वैज्ञानिक मूल्याङ्कन विधि अपनाउन सकिन्छ यसले स्वयं अध्ययन गर्ने पारिपाटी र प्रतिस्पर्धाभन्दा पनि सहयोगी वातावरणको सिर्जना गराउँछ । वस्तुगत, विषयगत तथा कक्षागत क्षमता नहुँदा नुहँदै पनि माथिल्लो कक्षा उचाल्ने जुन सरकारको कक्षा ७ सम्म उदार कक्षान्नोती अवधारण छ यसले समग्रलाई नै नियमित अध्ययनबाट बाहिर रहन टेवा प्रदान गरिरहेको छ । यसलाई सच्याउन पाठ्यपुस्तक शिक्षण पद्धति सुधार गर्नुको अलाव न्यूनतम मापदण्ड निर्धारण, परीक्षाको प्रश्नपत्रकोस्तर, परीक्षाहलको वातावरण, परिक्षकको कपी परीक्षण गर्ने शैली तथा नतिजा विश्लेषण जस्ता सिकाइमा अग्रणी र प्रत्यक्ष भूमिका राख्ने  क्रियाकलपालाई कार्यान्यवन तहमै विशेष ध्यान दिनुपर्दछ । जीर्ण आर्थिक, सामाजिक परिस्थितिलाई छिचोलेर उद्देश्यमा अडिग रहन व्यक्तिगत सल्लाह परामर्श, अभिभावकसँगको अन्तरक्रिया, विद्यार्थीको घर भ्रमण, समयसमयमा अध्ययन भ्रमण, सह–वनभोज, सफल  व्यक्तित्वहरूको उदाहरणीय व्याख्या, विद्यार्थीका कार्यक्रमहरूमा हौसला र सहभागिता, विषय विशेषज्ञसँग अन्तरक्रिया जस्ता क्रियाकलापका माध्यमबाट विद्यार्थीलाई रचनात्मक अनि मनोवैज्ञानिक हिसावले मनोवल प्रदान गराउन सकिन्छ ।  उनीहरूबाट सम्पन्न कामहरूको आवश्यक प्रशंसा, प्रचार प्रसार गर्दै क्षमता पहिचानमा सहयोग पु¥याउन सकिन्छ । अल्वर्ट आइन्स्टाइन्ट एक मध्यम खालका विद्यार्थी थिए भने थोमस अएल्वा एडिसनलाई त उनका शिक्षकले विद्यालय नपढाउन  अभिभवाकलाई पत्र नै लेखेका थिए । कल्पना र विचारले नयाँ ज्ञानको खोजी गर्छ भन्ने यथार्थलाई प्रमाणित गर्न यी उदाहरणहरू अर्थपूर्ण हुन् भने अमेरिकाका सौह्रौ राष्ट्रपति अब्राहम  लिङ्कनले आफ्नो छोरो अध्ययन गर्ने विद्यालयका प्रिन्सिपललाई धेरै नम्बर प्राप्त गर्ने भन्दा असल र महान बन्ने बाटोमा आफ्नो छोरालाई अघि बढाइदिन अनुरोध गरेर लेखिएको चिढी विश्व शिक्षण सिकाइमा एक महत्वपूर्ण विषय हो । एस. स्माइल्सले भनेजस्तो घर नै अनुशासनको सबैभन्दा उत्तम विद्यालय हो भन्ने कुरा आम अभिभवाकलाई बुझाउनु सक्नु र वी.पी. कोइरालाले दिएको ठूलो हुनपट्टि नलाग्नु तर असल हुनपट्टि लाग्नु भन्ने सन्देश आम विद्यार्थीमा बाँड्न सक्यौं भने विद्यार्थीका धेरै समस्याहरू समाधान गर्न सकिन्छ । यसले सिकाइ अर्थपूर्ण र दिगो बनाउँछ ।

प्रकाश पौडेलका अन्य सृजनाहरु :

अन्य सृजनाहरु प्राप्त छैन |

अन्य सर्जकको निबन्धहरु

No data was found