नीलकण्ठ प्रज्ञा प्रतिष्ठान

नीलकण्ठ नगरपालिका, धादिङ

रोल्पा प्रेम सिकाइरहेछ…

Facebook
Twitter
LinkedIn

रोल्पामा जबदेखि ‘सिर्जना महोत्सव’ सुरु गरियो, त्यतिबेलादेखि नै मेरो मनले रोल्पाको माटोमा टेक्ने हुटहुटी पनि पाल्न थालेको हो। तर विभिन्न कारणले समय मिलाउन सकेकी थिइनँ। यसपालि पनि उसैगरी सिर्जना महोत्सवको चौथो संस्करण आयोजना हुने सूचना मेरो फेसबुकको भित्तामा ‘ट्याग’ भयो। सूचना पढ्नासाथ यसपालि पनि एकपल्ट रोमाञ्चित बनेँ। तत्कालै जान सकिन्न होला भन्ने डरले घचघच्यायो र चुपचाप बसेँ। सबै कुरा सोच्नासाथ कहाँ पूरा हुन्छ र ! भन्ने सोचेर आफैँलाई चित्त बुझाएँ।

सिर्जना महोत्सवमा हरेक वर्षजस्तै यसपटक पनि कविता प्रतियोगिताका लागि कविता आह्वान गरिएको थियो। कविता पठाउने अन्तिम दिन पनि भैसकेको थियो। फेसबुकमा आँखा डुलाउँदै गर्दा फेरि उक्त सूचनामा मेरा आँखा अडिए। सोचेँ- यसपालि कविता पठाउँछु र मिलेसम्म रोल्पा जान्छु। तर कविता लेखेर पठाउने समय थिएन। मोबाइलको नोट पल्टाएँ र खोज्न थालेँ कुनै अप्रकाशित कविता। संयोगवश ‘अनुत्तरित प्रश्न’ शीर्षकको एउटा कविता भेटियो र तत्कालै पठाइहालेँ पनि।

सितिमिति प्रतियोगितामा भाग नलिने आफ्नो स्वभाव र तयारी तथा सम्पादन पनि राम्ररी नगरीकन पठाएको आफ्नो कविता सम्झेँ। त्यति ठूलो प्रतियोगिमा मेरो कविता छनौट हुँदैन भन्ठानेर आफ्नो दैनिक काममा लागेँ। जेठ ३ गते दिउँसो एक्कासी अपरिचित नम्बरबाट फोन आयो, उठाएँ। आवाज थियो रोल्पाबाट ओम पञ्छी सरको
‘तपाईं सृजना अर्यालजी बोल्नुभा हो?’
मैले यताबाट ‘हो’ भन्नासाथ उहाँको आवाज आयो- तपाईंले पठाउनुभएको कविता टप टेनमा छानिएको छ, तपाईं भोलि नै रोल्पाको लागि त्यहाँबाट हिँड्नुपर्ने हुन्छ।’

यति सुनेपछि म असामञ्जस्यतामा रुमलिएँ। यताका काम सम्झिएँ, आफ्नो अस्तव्यस्तता सम्झिएँ, रोल्पा जाने एउटा गतिलो अवसर पनि सम्झिएँ र केही बोल्नै सकिनँ। एकछिनपछि घर परिवारसित र संस्थागत कामका लागि साथीहरूसित सल्लाह गरेर फेरि ओम सरलाई फोन गरेँ र आफू रोल्पामा उपस्थित हुने कुरा जानकारी गराउँदै सँगै जाने साथी र गाडीको जानकारी लिई यात्राको तयारीमा जुटेँ।

भोलिपल्ट अर्थात् जेठ ४ गते बुबाआमाको आशीर्वाद र आफन्तको शुभेच्छा बोकेर म रोल्पा यात्रामा निस्किएँ। अरू साथीहरू काठमाडौँबाट आउने र म मलेखुबाट गाडी चढ्ने सल्लाह अनुरूप म साँझ ५ बजे मलेखु पुगेकी थिएँ। काठमाडौँबाट आउने गाडी केही ढिलो आइपुग्यो, लगभग साँढे छ बजेतिर म साथीहरूसित मिसिएर गाडीमा बस्न पाएँ।

बाटोभरि रोल्पासित साक्षात्कार हुन पाउने खुसीले मन भरिएको थियो। मेरो छेउको सिटमा थिइन्, नुवाकोटकी कवि एलिसा एकलास। दुई दिदीबहिनी गफ गर्दै गयौँ र यात्रामा रमाइलो थप्दै गए प्रज्वल अधिकारी, बाबु त्रिपाठी, देवव्रत, सुरज पराजुली, रसिक राज, युग सर्वनाम, मोहित श्रेष्ठ, रोशन रिजाल, राधिका कल्पित र उहाँकी छोरी युनिशालगायत साथीहरूले। हाम्रो अभिभावकका रूपमा हुनुहुन्थ्यो लक्ष्मी माली, दीपा राई पुन, राजेन्द्र शलभ, विश्व विमोहन श्रेष्ठ, विजय हितानलगायतका अग्रज साहित्यकारहरू।

आपसमा रमाइला कुराकानी गर्दै नारायणघाट पुगेको पत्तो नै पाएनौँ। नारायणघाटबाट हाम्रो साथमा अग्रज कवि भुपिन, सजिना पौडेल, अन्जान प्रदीप, अनिल अदृश्यलगायतका साथीहरू पनि जोडिनुभयो। त्यसपछि त हाम्रो रमाइलो यात्रा झन् रमाइलो भयो। रात र बाटो कटेको पत्तो भएन। गीत, गजल र रमाइला हाँसो ठट्टामा रमाउँदै दाङ जिल्लाको भालुवाङ पुग्दा हामीलाई उज्यालोले स्वागत गर्‍यो। त्यहाँबाट हामीलाई पुग्नु थियो बाङ नै बाङले भरिएको रोल्पा। उक्त क्षेत्रमा अधिकांश मगर जातिको बाहुल्य रहेकाले ठाउँका नामहरू पनि मगर भाषासित सम्बन्धित भएको अनुमान लगाउन सकिन्छ। मगर भाषामा बाङ को अर्थ चौर हुँदोरहेछ। रोल्पामा धैरै यस्ता ‘बाङ’हरू रहेछन्।

भालुवाङबाट उकालो लागेपछि प्युठान जिल्लाको केही मनोहर भूभागको अवलोकन गर्दै साना ठूला पहाड र पहाडका बिचबिचमा रहेका समथर र खेतीयोग्य जमिन देखेर रोमाञ्चित हुँदै बिहान हाम्रो यात्रा अघि बढ्यो। आफ्नै कला, संस्कृति र महत्वपूर्ण इतिहास बोकेको रोल्पालाई भेट्न आतुर मन बाटोभरि चढ्दै-झर्दै गर्ने नागबेली सडक र सडकसितै कम्मर मर्काइरहेकी राप्तीको सौन्दर्यसित पनि उत्तिकै रमाइरहेको थियो। बाटोभरि राताम्य लालीगुराँस, ओखर, टिमुर, काफल आदिका जङ्गलले भरिएका सुन्दर पहाड छिचोल्दै हामी बिहान करिब साँढे दश बजे रोल्पाको सदरमुकाम लिबाङ पुग्यौँ।

चारैतिर पहाडले घेरिएर बिचमा मुस्कुराइरहेको सुन्दर र शान्त बजारलाई देखाउँदै साथीहरूले ‘त्यही हो लिबाङ’ भनेपछि हाम्रो हर्षको सीमा रहेन। सानो चिटिक्क परको बजार, बजारको बिचमा टुँडिखेल। हाम्रो त्यस दिनको कार्यक्रम त्यही टुँडिखेलमा हुने भनिएको थियो, त्यहीँ पुगेर हाम्रो गाडी रोकियो।

लिबाङलाई देखेपछि सबैको अनुहारमा हेर्दा लाग्थ्यो- काठमाडौँबाट बीस घण्टाको यात्रा छिचोलेका हामीले थकाइ, निद्रा र भोक सबै बिर्सियौँ। त्यहाँ हामीलाई पर्खेर बस्नुभएका रोल्पाली साहित्यकारहरू तथा आयोजक समूहका सदस्यहरूले हामी बस्ने होटेलसम्म पुर्‍याइदिनुभयो। टुँडिखेल छेउको भट्ट होटलमा हामी प्रतियोगीहरू बस्ने भयौँ। हामी बसेको होटलभन्दा केही पर रोल्पा हेरिटेज होटलमा अन्य आमन्त्रित पाहुनाहरू बस्ने व्यवस्था मिलाइएको रहेछ।

होटलमा पुगेर नुहाइधुवाइ गरी खाना खाएर कार्यक्रमका लागि तयार भयौँ। एघार बजेबाट सुरु हुने भनिएको कार्यक्रम केही ढिलो अर्थात् बाह्र बजेदेखि सुरु भयो। रोल्पाको स्थानीय संस्कृति, भेषभूषा र कला झल्किने बजागाजा र र्‍यालीले एकपल्ट बजार परिक्रमा गरी टुँडिखेलमा पुग्यो। रोल्पाको स्वादिलो र भव्य स्वागतका साथ हामी पनि टुँडिखेल पुग्यौँ। उद्घाटनसत्र सँगै विभिन्न सत्रहरूमा गरिएको कार्यक्रम, बिचबिचमा राखिएको सांस्कृतिक नृत्य र गायनले कार्यक्रममा रौनक थपिरहेको थियो।

हामीले पनि त्यसै दिन आफ्ना प्रतियोगी कविताहरू सुनायौँ। हाम्रा निर्णायकका रूपमा आदरणीय अग्रज साहित्यकारहरू लक्ष्मी माली, डिबी टुहुरो र भुपिन हुनुहुन्थ्यो। हाम्रो प्रतियाेगिताको नतिजा भोलिपल्टमात्र प्रकाशित हुने भयो। हामी बाँकी कार्यक्रममा रमायौँ। त्यस दिनको कार्यक्रम सकिएपछि हामी आयोजकसहित सबैजना बेलुका होटेल हेरिटेजको सभाकक्षमा भेला भएर दिनभरिको कार्यक्रमको मोटामोटी समीक्षा गर्‍यौँ र खाना खाएर सुत्यौँ।

भोलिपल्ट बिहान रोल्पाली साहित्यकार तथा त्यस कार्यक्रमका लागि काठमाडौँ संयोजक दीप दर्पणले फोन गरेर लिबाङबजार वरपरका ठाउँहरू घुम्न जाने कुरा गर्नुभयो, हामी तयार भयौँ। एलिसा एकलास, राधिका कल्पित, सजिना पौडेल, दीप दर्पण, राजेन्द्र शलभ, विश्व विमोहन श्रेष्ठ र लक्ष्मी माली र मसहित आठ जनाको टोली त्यहाँबाट केही परसम्म घुम्न निस्कियौँ।

त्यहाँका विभिन्न सरकारी कार्यालयहरू, अस्पताल, क्याम्पस आदिको अवलोकन गर्दै र प्राकृतिक सुन्दरतामा रमाउँदै हिँडेका हामीलाई हाम्रो पथप्रदर्शकका रूपमा हुनुभएका दीप दर्पणले ती ठाउँहरूको परिचय गराइरहनुभएको थियो। यो जिल्ला अस्पताल रोल्पा, यो जलजला बहुमुखी क्याम्पस, ऊ… त्यो परको वर्षमान पुन र ओनसरी घर्तीको गाउँ, त्यता रुकुम, त्यता सल्यान, यता प्युठान र दाङ…।

हामी तिनै ठाउँहरू घुम्दै र माथि डाँडाबाट देखिएको लिबाङ बजारको सुन्दरतालाई आँखाले पिएर फर्कियौँ। फर्किँदा हामीले लिबाङको अर्को सुन्दर पक्ष पनि देख्यौँ- त्यहाँ हरेक शनिबार स्थानीय भेला भएर बजार सरसफाइ गर्ने चलन रहेछ। आफ्नो ठाउँलाई सुन्दर र हराभरा राख्न गरिएको यो अभियान असाध्यै मन पर्‍यो। मनमनै यस अभियानलाई देशका सबै पालिकाले पछ्याउनुपर्ने ठान्दै हामी होटेलतर्फ लाग्यौँ।

दोस्रो दिनको हाम्रो कार्यक्रम लिबाङदेखि केही पर त्यहाँको अग्लो र रमणीय स्थान सातदोबाटो भन्ने ठाउँमा तय भएको थियो। पूर्वयोजना अनुरूप हामी खाना खाइवरी लिबाङसित बिदा मागेर सातदोबाटोतर्फ जाने बस चढ्यौँ। अग्लो स्थानमा रहेको सातदोबाटोमा करिब छ करोडको लगानीमा दशतले भ्यु-टावर पनि बनेको रहेछ।

नेपालको दशवर्षे माओवादी जनयुद्धको प्रमुख केत्द्रको रूपमा रहेको रोल्पा-जनयुद्ध सङ्ग्रहालयका रूपमा विकसित गर्ने उद्देश्यले निर्मित भ्यु-टावरको छेउमा रहेको सहिद स्मारक स्तम्भ र उक्त टावरको पहिलो तल्लामा रहेको लडाकुहरूको शालिकले युद्धले थिलोथिलो भएको रोल्पालाई दर्बिलो भएर उभिन बल थपिरहेको प्रतीत हुन्थ्यो।

भ्यु-टावरमा राखिएको युद्धकालमा प्रयोग भएका सामाग्रीहरूको सजावटले सोही समयको झझल्कोलाई ताजा गरायो। डाँडामा चल्ने सिरसिरे बतासले रोल्पालाई अविचलित भएर आफ्नो कर्ममा लागिरहन सन्देश दिएको भान हुन्थ्यो। टावरभन्दा केही तलको ढुङ्गे बगैँचा, काफल, ओखरको जङ्गल, गुराँस र अन्य सुन्दर फूलहरूका  सुगन्धले कुनै अमरपुरमा छु झैँ लागिरह्यो।

लगभग साँढे एघार बजे त्यस दिनको कार्यक्रम सुरु भयो। विभिन्न सत्रहरूमा सञ्चालित कार्यक्रम निकै ओजपूर्ण र आनन्ददायी थियो। आँगनका कविता सुनिसकेपछि हाम्रो प्रतीक्षा र सबैको चासो रहेको नतिजा प्रकाशन कार्यक्रमको पालो आयो। प्रतियोगी दशैजना कविलाई अगाडि बोलाएर आयोजक तथा निर्णायकमण्डलमा समेत रहनुभएका डिबी टुहुरोले प्रतियोगिताको नतिजा सुनाउन थाल्नुभय‌ो।

सुनसरीका सुरज पराजुली, सल्यानकी कल्पना परियार, धादिङकी सृजना अर्याल(म आफैँ), नवलपरासीका अन्जान प्रदीप र धादिङका रोशन रिजालले क्रमश: प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गरेको घोषणा भयो। पुरस्कार वितरण कार्यक्रमपछि रोल्पासित बिदा लिएर हामी त्यहाँबाट आ-आफ्नो गृहजिल्ला तर्फको यात्रामा निस्कियौँ।

जम्मा बत्तीस घण्टाको रोल्पा बसाइमा हाम्रो मन रोल्पाले लुटिसकेछ। मैले पहिले सुन्ने गरेको रोल्पा र अहिले देखेको भोगेको रोल्पामा आकाश जमिनको अन्तर पाएँ। हिजो विद्रोहको बीज रोपेको रोल्पाले आज प्रेमको सुगन्ध छरिरहेछ। हिजो व्यवस्था परिवर्तनका लागि क्रान्ति र युद्धको बाटो रोजेको रोल्पा आज भातृत्व, प्रेम र सद्भाव सिकाइरहेछ। बम र बारुदको त्रासदीमा बाँचेको रोल्पा निस्फिक्री शान्तिको धुनमा रमाइरहेछ। भौगोलिक विकटता र युद्धको चपेटाले थिलथिलो भएको रोल्पाको मन अझ धेरै स्निग्ध र शान्त भएको रहेछ।

सफा हृदय भएका मान्छेहरूमा ‘अतिथि देवो भव:’को भाव जागृत भइरहेको पाउँदा जो कोहीको मन तानिन्छ नै। त्यसमाथि पनि रोल्पाको मनोहर भू-बनावट र प्राकृतिक सुन्दरताको मोहनी छुट्टै छ। हामीले त्यहाँ पाएको माया, सद्भाव र साहित्यकारप्रति गरिने सम्मान भावले त्यहीँ बसौँबसौँ लाग्ने बनाइसकेको थियो। आफ्नो घर फर्किन लागेका हाम्रो मन भने त्यतै कतै अल्झिएको हुँदो हो! सबैका आँखामा घर फर्किनुको रमाइलोभन्दा रोल्पासित छुट्टिनुको पीडा बढी देखिन्थ्यो।

बेलुका छ बजिसकेको थियो। हामीलाई बोकेर काठमाडौँसम्म आउने बस हाम्रै प्रतीक्षामा थियो। त्यसैले हतारहतार बसमा चढ्यौँ, बसले आफ्नो गति लियो। तर दु:खको कुरा हाम्रो समूहका १६ जनामध्ये चारजनालाई सिट नपुग्ने भयो। फोनबाट टिकट लिने बेलामा भएको केही गलत बुझाइले हो या अरू केही कारणले हो सिट पुगेन। बाँकी सिट अन्य यात्रुले भरिइसकेको थियो। केही पर पुगेपछि पाइएला भन्ने सोच्दै हामी अगाडि बढ्यौँ, तर पाइएन। साथीहरू कोही आफ्नै झोला ओछ्याएर त कोही सिटहरूका बिचमा गुन्द्री (म्याट)ओछ्याएर बस्नुपर्ने भयो। बाटोमा रमाइलो र ख्यालठट्टा गर्दै अप्ठ्यारोलाई सहज बनाउने प्रयत्न गरियो।

बिहान करिब साँढे पाँच बजेतिर नै हामी नारायणघाट आइपुग्यौँ। त्यहाँ कविहरू भुपिन, दीपा राई पुन, अनिल अदृश्य, सजिना पौडेल, अन्जान प्रदीपलगायत केही हामीसित छुट्टिनुभयो अर्थात् गाडीबाट झर्नुभयो। उहाँहरूलाई त्यतै छोडेर बसले आफ्नो रफ्तार लियो, हामी केही छुटेकोजस्तो भएर पनि पुरानै लयमा फर्किने कोसिसमा थियौँ। भेट्दा जति खुसी थियौँ, छुट्टिँदा त्योभन्दा धेरै दु:ख हुँदोरहेछ।

लाग्यो- म पनि साथीहरूसित काठमाडौँ नै पुगूँ। तर त्यसै दिन मेरो बुबाको जन्मदिन पनि परेकाले मेरो जन्मघरमा पूजाको आयोजना गरिएको थियो। बुबालाई जन्मदिनको शुभकामना र आफूले रोल्पामा पाएको खुसी बुबासित बाँड्न आतुर मेरो मनले पिताको खुसी रोज्यो र म फुर्केखोला (मलेखु)मा ओर्लिएँ। बुबालाई म रोल्पाबाट फर्किँदै गरेकोसमेत थाहा थिएन। एक्कासी हातमा प्रमाणपत्र, शिल्ड, मेडल र पुरस्कारसहितको मलाई देखेपछि बुबा भावुक हुनुभयो। मैले बुबालाई जन्मदिनमा आजसम्मकै ठूलो खुसी उपहार दिएँ। यो सब रोल्पाले जुराएको हो। रोल्पा नगरपालिका, नगर साहित्य कला तथा सङ्गीत प्रतिष्ठान, रोल्पाको कारण सम्भव भएको हो। रोल्पा सिर्जना महोत्सव (चौथो संस्करण)का आयोजक,  संयोजनमा जुट्नुहुने र यस यात्रामा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु।

सृजना अर्याल अधिकारीका अन्य सृजनाहरु :

SHRIJANA
गजल

अन्य सर्जकको विविधहरु

No data was found