कसैको प्रेममा यो दिल लगानी भइसकेको छ
उदासी, एक्लिएको मन रुमानी भइसकेको छ।
उसैको नेत्रमा डुब्ने बस्यो आदत, भएँ रोगी
म नेतीझैँ भएँ, अर्को मदानी भइसकेको छ।
कतै सत्मार्ग भेटेँ झैँ कुनै सद्ज्ञान पाएँँ झैँ
बनेँ गम्भीर, बालापन खरानी भइसकेको छ।
जवानी पाइयोस् ठान्थेँ सधैँ यो जिन्दगानीमा
अहो! यो बैँसको बेला कटानी भइसकेको छ!
यही सौन्दर्य, यो चोला मिली जानेछ माटोमा
कहाँ सीमा छ जीवनको चलानी भइसकेको छ।